नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकारलाई जोगाईदिएका छन् । शुक्रबार भएको मतदानमा पार्टी संसदीय दलको ह्वीपलाई उल्लंघन गर्दै उनीहरुले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई जोगाईदिएका हुन् ।

फ्लोर क्रस गर्दै शाहीको पक्षमा एमालेका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए । शाहीको पक्षमा मतदान गर्ने ४ सांसद एमालेको माधव नेपाल पक्षीय सांसदहरु हुन् ।

जसमध्ये ज्वाला र नन्दसिंह बुढा यसअघि प्रदेशका मन्त्रीसमेत भएका थिए । पार्टीको निर्देशनमा उनीहरु मन्त्रीबाट बाहिरिएका थिए ।
शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद र विपक्षमा १५ सांसदले मत गरेका थिए ।

शाही आबद्ध नेकपा (माओवादी केन्द्र)सँग १२ जना मात्रै सांसद छन् । जहाँ ६ सांसद रहेको नेपाली कांग्रेसले उनलाई घोषित समर्थन गरेको थियो ।