जोड्दै र तोड्दै
सम्बन्धहरु
एउटा असजिलो
असहज स्थितिमा
अलमलिरहेछ
सोच एकातिर
कर्म अर्कोतिर भएपछि
सम्बन्ध छैन सहज
मलाई ऊ
ऊ मलाई
लागोस् कसरी प्यारो ।

बाझिएको छ स्वार्थ
एउटै छ चाहना
म सहनै सक्दिन
उसले सहनै पर्दछ
क्या ! छ मान्छे
आफ्नो वशमा परे
आफ्ना कुरा माने
भनिदिन्छ उसलाई ज्ञानी
गणना गर्छ सन्तमा ।

विद्रोही त विद्रोह गर्छ गर्छ
मन विद्रोही छ
विद्रोह मन नपराए पनि
मान्छे विद्रोह गर्छ नै
उसको चेतना छ
उसको हेर्ने बुझ्ने
दृष्टिकोण पेश गर्ने
आफ्नै शैली
कागजको बट्टाको सम्बन्ध
पानीले नष्ट हुन्छ
फलामको सामानको सम्बन्ध
खिया लागेर
मान्छे मान्छेको सम्बन्ध
देख्नै छाडेपछि अर्कोलाई सक्षम
गर्नै छाडेपछि अर्कालाई सम्मान
स्वतः हुन्छ नष्ट ।

मान्छे शिशाको दरबारमा
बिहानै उठेर कोठा र चोटाबाट
हानिरहेछ ढुङ्गा शत्रुलाई

भनिरहेछ म सुरक्षित छु
म छु सक्षम
म सबल छु

शासकहरु जनमतबाट
एउटा शासकीय सम्बन्ध
बनाउँदा बनाउँदै
मासिन्छन् नासिन्छन्
अहङ्कारसँगको सह–सम्बन्धले
जब ऊ चिन्नै छाड्छ जनता
जब ऊ भुल्न पुग्छ कर्तव्य ।

सम्बन्ध स्वार्थपूर्ण छ
सम्बन्ध तरल छ
सम्बन्ध छ रापिलो
छ रवाफिलो
बाँच्न त को बाँच्ला र
विना सम्बन्ध ?