
समय
मलाई भनिरहेछ
बारम्बार दोहोर्याइरहेेेछ
म मर्दो छु
म जन्मिँदो छु
म नयाँ जन्ममा आउँदा
तिमीमा नआए
नयाँ सोच
नयाँ विचार
ठान तिमी भन्यौं
सोच तिमी छैनौ ।
समय म होइन
कर्म खोजिरहेछ
कर्ममा बाँच्ने
कर्ममा रमाउने
श्रमलाई सम्मान गर्ने
एउटा यात्री खोजिरहेछ ।
प्रत्येक सेकेण्ड
प्रत्येक मिनेट
प्रति घण्टा
समय जन्मिइरहेछ
कर्मविहीन प्रत्येक
समय एकाइ
मर्दै – मर्दै
बाँचे भन्ने भ्रममा
मृत्युवरण गरिरहेछ ।
ऊ हेर त !
तानाशाह जसरी
लाखौँ, हजारौँको रगतमा
खेलेर होली
पुनः भनिरहेछ
जन प्रतिनिधि
ऊ हेर त
उसको मुहार
कसरी एकाएक
हराइरहेछ चमक ।
एउटा चाटुकारलाई
नेता मान्नु
एउटा सन्काहालाई
संरक्षक ठान्नु
एउटा कर्महीनलाई
कर्मयोगीको उपाधि दिनु
त्यसैलाई पत्याउनु
समयको लात खानु हो
समयको अपमान हो
हो समयमाथिको अपराध ।