
आतङ्क, आतङ्क, आतङ्क
को हो आतङ्क ?
कोही भन्दछन्
हातमा हुन्छ एउटा क्यामारा
मुखमा हुन्छ प्रश्न
कोही भन्दछन्
मुखमा हुन्छ राम, राम
गोजिमा हुन्छ छुरा
हे राम ! हे राम ! हे राम !
यो आतङ्क आखिर रहन्छ कहाँ ?
कोही भन्छन् सन्दुकमा लुकेर बसेको हुन्छ
र त्यहीँबाट निसाना लगाउँछ
कोही भन्छन् इतिहासको पन्नामा सुत्छ
जब उठ्छ सन्दुकलाई ढाक्छ
हे ईश्वर ! हे ईश्वर !हे ईश्वर !
यो आतङ्क आउँछ काँबाट ?
कोही भन्छन्
यो आउँछ सीमापारिबाट
र मच्चाउँछ हुल्दङ्गा
सतश्री ! सतश्री ! सतश्री!
ध्यान मग्न कोही भन्छन्
यो सबैको मनमा रहन्छ
र दिनरात जलिरहन्छ
अज्ञानता र प्रतिशोधको आगमा
नमो बुद्धाय ! नमो बुद्धाय ! नमो बुद्धाय !
आतङ्को जन्म कसरी भयो ?
त्यो आमा पनि जान्दिनन्
आतङ्क आमाको कोखबाट पैदा भएको छैन
त्यो साम्राज्य र सत्ता पिपासुको
वीर्यपात फोहरमा झरेर जन्मिएको हो
साम्राज्यवादी, सिमाना पारिबाट आउँछ
राजधानीमा डेरा जमाउँछ
र मानिसलाई बाँडिदिन्छ
शिव ! शिव ! शिव !
र जो हुन्छ सत्ताको भोगी
देश हुन्छ उसको लागि गधा
र ऊ हुन्छ धोवी
ऊ भोग्दछ, सुख लुकेर सात पातलमा
पुस्तौपुस्ता जनतामाथि शासन गरिरहन्छन्
हे देवी मा ! हे देवी मा ! हे देवी मा !
यो आतङ् कस्तो भाषा बोल्दछ ?
आतङ्कको कुनै भाषा छैन
सङ्केतले गफ गर्दछ
भ्रमित मानिसलाई
आफ्नो औँलामा नचाउँछ
उसको इसारमा नाच्ने कठपुतलीहरु
अनेक प्रकारका गीत गाएर
र मञ्चमा चढेर उतेजक भाषण दिन्छन्
हे मा काली ! हे मा काली ! हे मा काली !
आखिर आतङ्क देख्दा कस्तो देखिन्छ ?
आतङ्ककने कुनै आकार छैन
पिचास सरह डुलिरहन्छ
र भुतको रूपमा धर्तीमा उल्टो पाउ चलाउँछ
के गाउँ के सहर
त्राहि त्राहिमाम बनाउँछ
आतङ्क मेरो दोस्त !
मेरो मनबाट निस्किनको लागि
तिमी के लिन्छौ।।?
कैलाश कोइराला ने.का चितवन जिल्ला उपसभापति