कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) नान्तिराज गुरुङले एक कार्यक्रमकाबिच प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो ।
प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकहरुलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उदेश्य अनुसार वडा नम्बर चार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो ।
गाउँपालिकाको केन्द्र रहेको कुरिनटार उद्योग होटलहरु भएको मुख्यराजमार्गमा पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा आज सफल भएको बताउनुभयो । प्रहरीचौकी स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै उहाँले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक एसपी नान्तिराज गुरुङलाई धन्यावाद दिनुभयो ।
प्रहरी उपरिक्षक नान्तिराज गुरुङले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी एक्लैले नसक्ने बताउनुभयो । अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले प्रहरीलाई नागरिकले सुचना दिएर सहयोग गरेका कारण नै अपराध नियन्त्रण गर्न सकिने बताउनुभयो । समाचारहरुमा फलानो एसपीको एक्सन सफलता भनेर समाचार आउने गरेपनि वास्तविक हिरो भनेको समुदायभित्रैको नागरिक भएको बताउनुभयो । उहाँले भन्नुभयो,“शान्ति सुरक्षा दिन समुदायमा हुने अपराधका घटनालाई नियन्त्रण गर्न तपाइहरुको आवस्यकता पर्छ तपाइहरुले नै सुचना दिएर प्रहरी सफल हुने हो, समाचारमा प्रहरीको एक्सन भनेर आउँछ तर रियल हिरो तपाइहरु हो तपाइहरुले सुचना दिएर नै सफल भएको हो ।” प्रहरी एक्लैले अहिलेको परिस्थितिमा अपराध नियन्त्रण गर्न नसकिने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
तत्काल जग्गा उपलब्ध भएर भवन र्निाण नभएसम्म प्रहरी चौकीको घरभाडा गाउँपालिकाले उपलब्ध गराउने जनाएको छ ।
१५ जनाको दरबन्दी रहेको प्रहरी चौकीमा तत्काल प्रहरी साहयक निरिक्षकको कमाण्डमा ५ जना रहने छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बल आँपटारीका प्रमुख प्रहरी उपरिक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान चितवनका प्रमुख प्रहरी उपरिक्षक उत्तम खनाल, गाउँपालिका प्रवक्ता सावित्रि गुरुङ, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थिए ।
कार्यकम इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सूर्य बहादुर मगरले सञ्चालन गर्नुभएको थियो ।