चितवन, २६ माघ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको भासिएको सडकको मर्मत कार्य सुरु भएको छ। सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउहरु १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो। सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो।
नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो। यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ।
यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो। भित्ता काटेर सवारी सञ्चालन भैरहेको छ। भासिएको स्थानमा ८२ वटा पायल बनाएर प्रोटेक्सनको काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिनुभयो ।