काठमाडौं,१७ माघ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भुभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको भनाइ छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमापातको संभावना रहेको छ।

राती देशको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमापातको संभावना रहेको छ।