कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको हो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । लामा ६९ वर्षका थिए । लामाका दुई श्रीमती, एक छोरा र चार छोरी छन् ।
०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी ०६३ मा पुनर्स्थापित व्यवस्थापिका–संसद्को सदस्यसमेत थिए । त्यसपछि उनी दक्षिण कोरियाका राजदूत बनेका थिए । नेकपा अध्यक्ष प्रचण्डले शोकवक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधन भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरेका छन् ।
दिवंगत लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की, निडर, जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको भन्दै प्रचण्डले उनको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न अभावको महसुस हुने उल्लेख गरेका छन् । त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालले पनि पूर्वसांसद एवं दक्षिण कोरियाका पूर्वराजदूत लामाको असामयिक निधनप्रति दुःख प्रकट गरेका छन् ।
लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् ।
प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दु:खी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले नयाँ पत्रिकासँग भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दु:खद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् ।
निधनअगाडि लामाले फेसबुकमा लेनदेन समस्याबारे लेखेका थिए । तर, प्रवक्ता श्रेष्ठको नाम भने उल्लेख गरेका थिएनन् । लामाले आफू मरेको अवस्थामा इन्द्रमायालाई नआउनू भनेरसमेत फेसबुकमा लेखेका थिए । कोरोनाबाट संक्रमण भएपछि लामाले असन्तुष्टि मिश्रित स्टाटस सामाजिक सञ्जालमा राख्दै आएका थिए ।
एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ : नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा
कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ । नयाँ पत्रीका बाट