
इच्छाकामना : चितवनको एतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर प्रांगणमा लाग्ने पञ्चमी मेला यस बर्ष नहुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो ।
श्री इच्छाकमना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस बर्ष मेला नलाग्ने जानकारी दिनुभयो । भीडभाड हुदाँ कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उहाँको भनाइछ । २० गते विहान भने भीडभाड नहुने गरि दर्शन तथा पुजाका लागि मन्दिर खुला गरिने जानकारी दिनुभयो ।
हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस बर्ष मंसिर १९ र २० गते परेका थिए । रातभर मेला लाग्ने र विहान पुजाआजाका साथै बली चढाइने परम्परा रहेको छ । गत बर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक विदा समेत दिन थालेका छन् । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ । मनकामना माईको सात दिदी बहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।