
हीरालाल गुरुङ
मुग्लिन,११ मङसिर । वागमती प्रदेश उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले वागमती प्रदेश सरकारले युवाहरुलाई उद्यम गर्न सहुलियत ऋण उपलब्ध गराउने बताउनुभएको छ । चितवनको इच्छाकामना ६ स्थित जलबिरे लामो झरनामा निर्माण गरिएको गोलो घर र प्रवेशद्वार गेटको उद्घाटन गर्दै मन्त्री नेपालले वागमती प्रदेश सरकारले उद्योग गर्न चाहने युवाहरुलाई विनाधितो ऋण उपलब्ध गराउने बताउनुभएको हो ।
यो बर्ष २ सय जना युवाहरुलाई विना धितो ऋण उपलब्ध गराउन नेपाल राष्ट्रय बैँक र वागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबिच सम्झौता भइसेको पनि बताउनुभयो ।
अनुदान दिएका रकमहरुको दुरुपयोग भएका कारण सहुलियतरुपमा पाँच बर्षभित्र तिर्ने गरि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको उहाँको भनाई छ । मन्त्री नेपालले भन्नुभयो,“अनुदान दिदाँ खासै उपलब्धी भएन, बाख्रा पालनका लागि नेपाल सरकारले अरबौँ रकम खर्च गरियो, तर नेपाल मासुमा आत्मनिर्भर बन्न सकेन, अब विना धितो सहुलियत ऋण उपलब्ध गराउँदैछौँ, पैसा नभएर काम गर्न सकिएन भन्ने दिनको अन्त्य गर्दैछौँ ,यो बर्ष हामी २ सय यूवालाई ऋण उपलब्ध गराउदैछौँ ।”
जसका लागि प्रदेश सकारले रु. ३ अर्ब रुपैयाँ कोष निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सानातिना उद्योग संचालन गर्नका लागि ऋण लिन धरौटी नचाहिने बताउनुभयो । अब चाडैँ प्रदेश सरकारले सार्वजनिक रुपमा आवहान गरिने भएकोले आफु के काम गर्ने हो त्यसको प्रस्ताव पेश गर्न यूवाहरुलाई आग्रह गर्दै सरकारले ल्याएका यस्ता सुविधाको फाईदा लिन आग्रह गर्नुभयो ।
साथै उहाँले गाउँगाउँ सडक पुग्नु मात्र विकास नभएको बताउनुभयो । स्थानीय स्तरमा उत्पादन बढाउनु आवश्यक रहेको बताउनुभयो । मन्त्री नेपालले भन्नुभयो, “ गाउँ गाउँमा सडक पुग्नु मात्र विकास होइन, हामीले स्थानीय स्तरमा उत्पादन बढाई आम्दानी गर्नतिर ध्यान दिनुपर्छ, सरकारले सहयोग गर्ने छ । ”
उहाँले लामो झरना राजमार्गको छेउमा रहेकाले राम्रो पर्यटकीय गन्तव्य बन्ने बताउनुभयो । झरनाको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । सबै सरोकारवालाहरुले यहाँको थप सम्भावना के छ सिर्जनात्मक ढंगले अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा संघिय सांसद कृष्णभक्त पोखरेलले इच्छाकामना पर्यकीय हिसावले सम्भावनायुक्त गाउँपालिका रहेको बताउनुभयो । उहाँले २०७० सालदेखि केन्द सरकारबाट लामो झरनाको लागि रकम ल्याउन आफुले नै पहल गरि सुरुवात गरेको बताउनुभयो । यहाँको विकासका लागि निरन्तर लागिरहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले लामो झरना इच्छाकामनाको प्रमुख पर्यटकिय स्थल मध्यमा एक भएकोले यसको व्यवस्थापन र प्रवद्र्धनको लागि गाउँपालिका अनवरत लागिरहेको बताउनुभयो। विशेष गरेर इच्छाकामना कृषि र पर्यटनको उर्वर भुमी भएर पनि भौगोलिकताका कारण पछाडि परेकोले यहाँको विकास र समृद्धिको लागि स्थानीय सरकार निरन्तर लागिरहेको साथै संघ, प्रदेश सरकारले पनि विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
प्रदेश सरकारको रु. २५ लाख र स्थानीयको श्रमदान ख रु. ७ लाख गरि रु. ३२ लाखमा प्रवेशद्वार र गोलोघर निर्माण गरिएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो। हरेक बर्ष लामो झरनामा आउने पर्यटकहरुको संख्या बढ्दै गइरहेको उहाँले बताउनुभया
समुद्घाटन कार्यक्रममा वागमती प्रदेश पर्यटन कार्यालयका आयोजना प्रमुख विष्णु बहादुर भण्डारी, जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णराज गुरुङ, गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष पञ्च बहादुर चेपाङ, वडा नं. ३ का गोवद्र्धन अधिकारी, वडा नं. ५ का मोदराज सिलवाल, नेकपा चितवनका सचिवालय सदस्य नारायण अधिकारी, नेकपा इच्छाकामनाका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य दान बहादुर गुरुङ , नकेपा इच्छाकामनाका सचिव हरि बहादुर थापा लगायतको समेत उपस्थिति रहेको थियो।