
तनहुँ : आँबुखैरेनी गाउँपालिकाका नागरिकले अब वडास्तरमा नै न्याय पाउने भएका छन्। गाउँपालिकाले पछिल्लो समय ६ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेसँगै नागरिकहरुले वडास्तरमा नै न्याय पाउने भएका हुन्।
स्थानीय शासन एन २०७४ अनुसार गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको संयोजक्त्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहनुभएको छ ।
गाउँपालिकाले विवादको साटो मेलमिलापको बाटो भन्ने मुल नारा अङ्गिकार गर्दै मेलमिलाप संचालन सम्बन्धि कार्यविधि पारित गरेका थिए ।
सोही बमोजिम गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पुष्पादेवी श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार न्यायिक समितिमा न्याय सम्पादनको चाप कम गर्न, सामान्य झैझगडा र विवादहरुलाई वडाबाटै मेलमिलाप गरि समाधान गर्न सहज हुने भएकाले प्रत्येक वडामा एक जना मेलमिलाप संयोजक र वडा हेरी न्युनतम ३ देखि ५ जनासम्म सदस्य रहने गरी ४० जना मेलमिलाप सहजकर्ताहरुको नियुक्त गरिएको छ।
आँबुखैरेनी १ मा पवन नेपाली, २ मा बासुदेव थापा,३ मा नारायण गिरि, ४ मा मिनशोभा गुरुङ, ५ मा चतुरे मगर र ६ जङ्ग बहादुर गुरुङलाई संयोजकमा नियुक्त गरेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आँबुखैरेनी गाउँपालिका र जाईका नेपालले ६ दिने प्रशिक्षण समेत दिईसकेको छ भने शपथ ग्रहण गराई प्रमाणित समेत गरिसकेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पुष्पादेवी श्रेष्ठले सपथग्रहण गराउनुभएको थियो ।
अहिलेसम्म सामान्य विवादको मेलमिलाप समेत न्यायिक समितिबाट भैरहेकोमा मेलमिलाप कर्ताहरुको नियुक्ति सँगै अब वडाबाटै विवाद समाधानका कामहरु सुरु गर्न सकिने भएपछि नागरिकलाई सहज हुनेभएको छ ।