दुर्घटनामा परि घाईते भएका भलिबल खेलाडी ओमप्रकाश परियारको उपचार सहयोगार्थ संकलन गरिएको सहयोग रकम आज हस्तान्तरण गरिएको छ।

फ्यान्स क्लबले कास्कीको पोखरामा एक कार्यक्रमकाबीच सहयोग अभियानबाट संकलित ६ लाख ५० हजार १ सय ६३ रुपैयाँ पहिलो चरणमा हस्तान्तरण गरिएको हो । फ्यान्स क्लबका अभियन्ताद्वय लक्ष्मण काप्री र गण्डकी प्रदेश भलिबल टोलीका सदस्य राजन दर्लामी मगरले संकलित रकम ओम प्रकाश उपचाररत अस्पताल हरियो खर्क नयाँगाँउ पोखरामा पुगेर हस्तान्तरण गरेका थिए ।

फ्यान्स क्लबका अभियन्ताद्धय लक्ष्मण काप्री र गण्डकी प्रदेश भलिबल टोलीका सदस्य राजन दर्लामी मगरको पहलमा ओमप्रकाश परियारको उपचारको लागि गत २० भदौबाट सहयोग अभियान सुरु भएको थियो । फ्यान्स क्लबले शनिबार साँझसम्म सहयोग अभियान चलाएको थियो ।

अभियन्तामध्येका एक लक्ष्मण काप्रीले पहिलो चरणमा संकलन भएको नगद रकम मात्रै हस्तान्तरण गरिएको र दोस्रो चरणमा उठ्न बाँकी रहेका रकम संकलन गरेर हस्तान्तरण गरिने जानकारी गराए । गण्डकी प्रदेश प्रहरी भलिबल टिमका खेलाडी रहेका ओमप्रकाश तनहुँको देवघाटमा ड्युटी सकेर फर्कन क्रममा सडक दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।

भलिबल भनेपछि जहाँ पनि खेल्न पुग्ने पर्वतका ओमप्रकाश गत वर्षको १ माघमा तनहुँको देवघाटमा लाग्ने माघे संक्रान्तिको मेलाको ड्युटी सकेर फर्कने क्रममा नेपाल प्रहरी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु हुदा उनी पनि घाइतेहरुको सुचीमा रहेका थिए । आर्थिक अवस्था कमजोर रहेका उनको खुट्टा र ढाडको मेरुदण्ड भाँचिएको थियो ।

अभियानबाट संकलित रकम हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल संघका सल्लाहकार नारायण प्रसाद शर्मा, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल जापान भलिबल संघका पुर्व अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष नवीन गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य तथा सल्लाहकार देवेन्द्र कार्की, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका कोषध्यक्ष हरि कुमार श्रेष्ठ, अस्पताल व्यवसथापनका विजय बराल र अमृत कोइरालालगायतको उपस्थिति रहेको थियो ।