चितवन :  पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले काठमाण्डौं जाने सडक अझै सञ्चालनमा  आउन सकेको छैन । चितवन र धादिङको सिमाना मौवाखोलामा डाइभर्सन निर्माण गरि यातायात सुचारु गर्न भोलि सम्म लाग्ने भएको छ। सोमबार परेको अविरल बर्षाको कारणआएको पहिरोले मौवाखोलामा रहेको मुख्य राजमार्गको पुलको एक छेउ बगाएर यातायात अवरुद्ध भएको थियो।
सो स्थानमा अहिले डिभिजन सडक कार्यालय भरतपुरले डाइभर्सन निर्माण गरेर राजमार्ग सञ्चालन गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार मौवाखोलामा डाइभर्सन निर्माण गरेर यातायात सुचारु गर्न अझै आज र भोलि सम्म लाग्ने देखिन्छ । “अहिले हामी डाइभर्सन निर्माण गरेर यातायात सुचारु गर्न तदारुकताका साथ लागिरहेका छौ, कम्तिमा शुक्रबार दिउँसो सम्ममा यातायात सुचारु गर्छौ” – उहाँले भन्नुभयो ।
डाइभर्सन निर्माणको काम रातभर पनि भैरहेको उहाँले बताउनुभयो। यस्तै यो राजमार्ग प्रयोग गरेर यात्रा गर्ने यात्रुहरुले सकेसम्म वैकल्पिक राजमार्ग प्रयोग गरिदिन पनि उहाँले अनुरोध गर्नु भएको छ ।