कुरिनटार, २४ असार । इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभाको अन्त्य भएको छ । आज अन्तिम दिन सभाको बैठक नै नबसी गाउँपालिका अध्यक्ष तथा सभाका अध्यक्ष गीताकुमारी गुरुङले अन्त्य भएको घोषणा गर्नुभएको हो ।
वडा नम्बर तीनको केन्द्र टुंगो लगाउने विषयमा विवाद हुदाँ सातौ गाउँसभाको दुखद अन्त्य भएको हो । सभामा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ नै उपस्थित हुनुभएन ।

आज अन्तिम दिन पाँच जना मात्र गाउँसभा सदस्य उपस्थित भएका थिए ।
यस अघि २२ गते पनि उपाध्यक्ष सहितको सदस्यहरुले बहिस्कार गरेका थिए । उक्त बैठक बहिस्कार गरेपछि बाँकी सदस्यहरुले विरोध जनाएका थिए । उनिहरु पनि आज सभामा उपस्थित भएनन् ।
गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीता कुमारी गुरुङले स्वंयम उपाध्यक्षले नै बहिस्कार गरेकोमा आश्चर्य भन्दै दुख व्यक्त गर्नुभयो । आफ्ना कुरा सभामा नराखेर सभा नै बहिस्कार गर्नु जनभावना विपरित भएको बताउनुभयो ।
स्थानीय तहमा प्रतिपक्षको कल्पना नगरेकोेले यस अघिका सभामा त्यो वा यो पार्टी नभनी सहमतीमा सम्पन्न गरेको बताउदैँ आज उपाध्यक्षले नै बहिस्कार गरेकोमा उहाँले दुख व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ सहितका सदस्यहरुले वडा नम्बर तीनको केन्द्र चुम्लिङटार र अन्य बाँकी सदस्यहरु फिस्लिङ पक्षमा रहेका छन् । आज अन्तिम दिन वडाको केन्द्रको टुंगो लागाउन मतदान हुने कार्यतालिका रहेका थिए ।
१० गतेदेखि सातौँ गाउँसभा सुरु भएका थिए । पहिलो दिन पनि गणपुरक संख्या नपुग्दा सभा स्थगित भएका थिए ।