
हीरालाल गुरुङ
कुरिनटार, २२ असार । चितवनको इच्छाकामना गाउँपालिकाको सातौँ गाउँसभा स्थगित भएको छ । गाउँसभाका सदस्यहरुले सभास्थल छाडेर गएपछि सभाध्यक्ष गीता कुमारी गुरुङले स्थगित गर्नुभएको हो । गाउँसभामा आज वडा नम्बर तीनको वडा कार्यालय टुंगो लगाउने कार्य तालिका रहेको थियो ।
तर केही गाउँसभा सदस्यहरुले निर्धारित समय भन्दा ढिला सुरु भएको भन्दै नियमापत्ती जनाएर सभा बहिस्कार गरेर निस्किएपछि गाउँसभा २४ गते दिउँसो १ बजे सम्मका लागि सभाध्यक्ष गीताुकमारीइ गुरुङले गाउँसभा स्थगित गर्नुभएको हो ।
अपमानित सहदैनौँ
यसैबिच गाउँसभा स्थगित गरिएकोमा असन्तुष्टि जनाएका १८ जना सदस्यहरुले अब साउन २ गतेपछि मात्र आफुहरु सहभागी हुने बताएका छन् । आफुहरु निर्धारित समयमा नै उपस्थित हुदाँ पनि गाउँसभाका सभाध्यक्ष गीता कुमारी गुरुङ र केही सदस्यहरु योजनावद्ध रुपमा आफै साँझ ६ बजे उपस्थित भएर बैठक बहिस्कारको नाटक गरि स्थगित गरिएको वडा नम्बर १ का अध्यक्ष नन्दलाल गिरिले आरोप लगाउनुभयो । उहाँले अब साउन २ गते यता आफुहरु उपस्थित नै नहुने बताउनुभयो । यसैबिच वडा नम्बर तीनका अध्यक्ष गोवर्धन अधिकारीले आजको घटनाले आफुहरुलाई दुखित तुल्याएको बताउनुभयो । यस अघि राती नौ बजे सम्म पनि सभा बसेको बहुमतको आधारमा आफुहरुले विमती राखेको विषयलाई स्वीकार गरेको तर आज आफुहरुको पक्षमा बहुमत देखिएपछि स्थगित गरेको आरोप लगाउनुभयो ।
वडा सदस्य दमन कुमारी चेपाङले अब आफुहरु अन्याय नसहने बताउनुभयो । आफुअनुकुल मात्र गाउँसभा संचालन गर्ने गाउँपालिका अध्यक्षको कार्यको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।
दिउँसो १ बजे निर्धारति समय तोकिएको गाउँसभामा कोरम पुग्ने सदस्यहरु निर्धारति समयमा गाउँसभा हलमा उपस्थित हुदाँ गाउँपालिका अध्यक्ष गीता कमारी गुरुङ , उपाध्यक्ष कृति कुमार श्रेष्ठ र केही सदस्यहरु साँझ ६ बजे मात्र उपस्थित भएका थिए । कोरम पुगेपछि प्रमुख प्रशासकिय अधिकृत तथा साभाका सदस्य सचिव सुकदेव लम्सालले कर्मचारीहरु मार्फत पटक पटक गाउँसभा सुचारु गर्नका लागि कोरम पुग्यो भनेर कर्मचारी मार्फत जानकारी गराउनु भएपनि अध्यक्ष गुरुङ साँझ ६ बजे मात्र उस्थित हुनुभएको थियो । ढिला सुरु भएको भन्दै वडा नम्बर पाँचका वडाध्यक्ष मोदराज सिलवालले नियमत्ती जनाउनुभयो । त्यसपछि केही सदस्यहरु सभा छाडेर हिडेँका थिए । अध्यक्ष उपाध्यक्ष सहित बहिस्कार गर्ने सदस्यहरु नै ढिला उपस्थित भएका थिए ।
वडा नम्बर ३ को केन्द्र फिस्लिङ र चुम्लिङ कहाँ तोक्ने भनि आज गाउँसभाले बहुमतको आधारमा टुंगो लगाउने कार्यतालिका रहेको थियो ।