हीरालाल गुरुङ
चितवन, १९ असार । चितवनको इच्छाकामना गाउँपालिकालाई वडाको केन्द्र टुंगो लगाउनै  सकस परेको छ । वडा नम्बर ३ को कार्यालय तोक्नका लागि गाउँसभामा मत विभाजन गर्दा समेत टुंगो लाग्न नसकेपछि सकस परेको हो ।
विहिबारको गाउँसभा बैठकमा विवादित वडाहरुको केन्द्र टुंगो लगाउन मत विभाजन समेत गरिएको थियो । उक्त वडाको फिस्लिङ र चुम्लिङटार मध्य कुनैपनी प्रस्तावको पक्षमा बहुमत नभएपछी केन्द्र टुंगो लाग्न नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिनुभयो । सभाका सचिव लम्सालका अनुसार सभामा तत्काल कायम सदस्य संख्याको ५१ प्रतिशत मतले केन्द्र टुंगो लगाउन सक्ने कानुनी प्रावधान रहेको छ । इच्छाकामना गाउँपालिकाको गाउँसभामा तत्काल कायम सदस्य संख्या ३५ छ । जस अनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तिमा पनि १८ मत ल्याउनै पर्ने हुन्छ। तर बिहिबार भएको गाउँसभामा प्रस्तावित वडा ३ को केन्द्र सम्बन्धमा फिस्लिङको पक्षमा १५ र चुम्लिङटारको पक्षमा १७ मत परेको थियो।
अब उक्त प्रस्तावमा छलफल गर्न आगामी असार २२ गते गाउँसभा बस्ने उहाँले जानकारी दिनुभयो । वडाको केन्द्र्र टुंगो नलाग्दा अहिले गाउँपालिकाको कार्यालयबाट वडा कार्यालयको काम सञ्चानन भइरहेको छ।
वडा नम्बर २ को केन्द्र अपायकमा तोकियो
यसैबिच विवादकाबिच अनिर्णित बनेको वडा न. २ को केन्द्र भने टुंगो लागेको छ । १० गते देखि जारी गाउँपालिकाको सातौ गाउँसभाको बिहिबार बसेको चौथो बैठकले वडा न. २ को केन्द्र माथिल्लो काउलेमा तोकिएको हो।
वडाको केन्द्रका लागि सभामा ३ वटा स्थानको नाममा प्रस्ताव परेको थियो। वडा सदस्य माया गुरुङको तर्फबाट ओल्र्याङ, वडाध्यक्षको तर्फबाट हाल वडा कार्यालय सञ्चालन भैरहेको स्थान हपनी र सुशासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक मोदराज सिलवालले माथिल्लो काउलेमा वडा केन्द्र राख्न सभामा प्रस्ताव पेश गरेका थिए। सभामा प्रस्तुत प्रस्तावहरु मध्य सुशासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक मोदराज सिलवालले माथिल्लो काउलेमा वडा केन्द्र राख्न पेश गरिएको प्रस्तावलाई सभाले बहुमतका साथ पारित गरेको थियो।
उक्त प्रस्तावको पक्षमा सभामा तत्काल कायम सदस्य संख्याको १९ मत परेको थियो भने विपक्षमा १४ मत परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिनुभयो। अधिकृत लम्सालका अनुसार वडा सदस्य माया गुरुङको तर्फबाट प्रस्तावित केन्द्र ओल्र्याङ भन्ने प्रस्ताव भने फिर्ता गरिएको थियो।
गाउँसभाका सदस्यहरुको बहुमतका आधारमा काउलेमा वडा कार्यालय टुंगो लागेपछि वडा कार्यालय अपायक परेको छ। भौगोलिक दृष्किोणले सबै टोलकाबिचमा पर्ने वल्र्याङ हो । राजनितिक दवावमै वल्र्याङको प्रस्ताव फिर्ता गराइयो ।
चितवनको एक मात्र यस गाउँपालिका भौगोलिक दृष्टिकोणले विकट रहेका कारण वडा कार्यालयहरु सबै टोलका जनतालाई सहज हुने गरि राख्न सम्भव नभएको जनप्रतिनिधिहरु बताउँछन् । तर गाउँसभाको मतका आधारमा वडा नम्बर २ को केन्द्र बिचमा भागमा नभई एक छेउमा तोकिएको छ । गाउँसभा सदस्यहरुले सबैलाई पायक पर्ने बिच ठाउँमा केन्द्र तोक्नुपर्नेमा एकातिरको छेउमा निर्णायक मत जानु स्वविवेक भन्दा पनि राजनितिक दबाबमा मत जाहेर गरेको  असुन्तुष्ट असन्तुष्ट  स्थानियहरु बताउँछन् ।
गाउँपालिकाको ७ मध्य ५ वटा वडाको केन्द्र यस अघि नै टुंगो लागेर भवन निर्माणको काम सुरु भैसकेको छ।