राजेन्द्र न्यौपाने
गोरखा : सांसदले बोलेपछि गोरखामा खाद्यन्न थप भएको छ । निर्वाचन क्षेत्र नं। १ का सांसद हरिराज अधिकारीले उत्तरी गोरखामा बर्सेनी पर्ने खाद्य संकटको बारेमा संसदमा बोलेपछि सिर्दीवास डिपोका लागि एक हजार पाँचसय क्वीन्टल खाद्यन्न थप भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका अनुसार यतिबेला सिर्दीवासमा सातसय क्वीन्टल, माछाखोला डिपोमा तीनसय उनान्चालिस, जिल्ला गोदाममा एक हजार चारसय पैसठ्ठी क्वीन्टल चामल रहेको छ । थपिएको कोटाको चामल विरगंजबाट आइसकेको र त्यसलाई माछाखोला तर्फ ढुवानी भैरहेको शाखाका प्रमुख नविन बस्नेतले बताउनुभयो ।
उत्तरी गोरखामा उर्वर भूमिको अभावको कारण त्यहाँ उत्पादन भएको खाद्यन्नले वर्ष भरी नपुग्ने भएपछि नेपाल सरकारको ढुवानी अनुदानमा कम्पनीको कार्यालयबाट खाद्यन्न विक्री गर्ने गरेको छ । उपभोक्ताले आवश्यकताको आधारमा सोना मन्सुली प्रतिकेजी ५० रुपैयाँ, जिरा मसिनो प्रतिकेजी ६२ रुपैयाँ र जापानिज चामल प्रतिकेजी ४९ रुपैयाँमा पाउँछन् । कम्पनीबाट खरिद गरेर बजारमा विक्री गर्न भने पूर्ण रुपमा प्रतिबन्ध रहँदै आएको छ । बाटो समस्याको कारण उत्तरी गोरखामा बस्तुको वास्तविक मुल्य भन्दा ढुवानी खर्च दुईगुणा धेरै हुने गरेको छ ।
जिल्लामा सिर्दीवासका लागि तीनहजार दुईसय र माछा खोलाका लागि आठसय क्वीन्टल चामलको कोटा रहँदै आएको छ । माछा खोलासम्म गाडिबाट चामल दुवानी हुनेगर्दछ । माछाखोला माथि खच्चड मार्फत ढुवानी हुनेगर्दछ । वर्ष भरी खपत भएको आधारमा पछिल्लो वर्षका लागि खाद्य माग गर्ने गरीन्छ उपभोक्ताको उपभोगका आधारमा कुनै वर्ष खाद्य अभाव हुन्छ त कुनैवर्ष प्रयाप्त रहने गर्दछ ।