
बुटवल : नेपाली नक्साभित्रै पर्ने पश्चिम नवलपरासीको सुस्तामा जंगे पिलर छैनन् । नेपाल–भारत सीमा छुट्याउने सीमास्तम्भ नभएपछि भारतीयले नेपाली भू–भाग अतिक्रमण गर्दै थिचोमिचो गर्न थाले । सहन सक्ने स्थिति नै रहेन । अनि सुस्तावासीले प्रतिवाद गरे । तीमध्येकी एउटी नेतृत्वकर्ता हुन्, नुरुजा वेगम अर्थात् लैला दिदी ।
२०३४ सालमा नारायणीले धार परिवर्तन गर्यो । नारायणीवारी रहेको सुस्ता पारी बन्यो । नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्छ सुस्ता गाउँ। जहाँ पुग्न भारतबाट बाटो हुँदै जानुपर्छ । नारायणीले धार फेरेसँगै भारतीयले नेपाली भूमिमा आँखा गाडे । जोतभोग गरेर उब्जाएको अन्नबालीसमेत लुट्ने भएपछि सुस्तावासी त्यसको प्रतिकारमा उत्रिए । प्रतिकारकै कारण सुस्ताको केही हिस्सा अहिलेसम्म नेपालीकै अधीनमा छ । ‘हामीले नछेकेको भए उहिल्यै अधिनमा पारिसक्थे, सुस्ताकी लैला दिदी अर्थात् नरुजा भन्छिन्, ‘आफ्नै जमिनमा खेती गरेर खान पाएका छौं ।’ उनले लैला नाम आफैं राखेकी हुन् । चलचित्रको नायिका–नायकको प्रेम देखेर उनले आफूलाई लैला र देशको भूमिलाई मजनु नाम राखिन् ।
त्यतिबेलै बाँचुञ्जेल सीमा मिच्न नदिने अठोट राखिन् । सुस्ताको क्षेत्रफल ४० हजार ९ सय ८० हेक्टर छ । १४ हजार हेक्टर भारतले अतिक्रमण गरेको छ । साढे सात हजार हेक्टरमात्रै सुस्तावासीले भोगचलन गरेका छन् । १९ हजारभन्दा बढी हेक्टर जमिन नेपाल भारत कसैले भोगचलन नगर्ने सहमति भएको छ । २०६२ मा भारतीयले जमिन अतिक्रमण बढाएपछि ६४ सालमा गाउँलेबीच यो सहमति भएको हो ।
लैलाजस्तै सुस्तावासीको अठोट छ, १४ हजार हेक्टर जमिन पनि फिर्ता हुनैपर्छ। ‘हाम्रो जमिन भारतीयलाई किन दिने रु उनको प्रश्न छ । उनकै ५ बिघा बाहेकको जग्गासमेत अतिक्रमणमा परेको छ । पुर्जा, जोतभोग प्रमाण भए पनि फिर्ता भएको छैन । सीमामा पिलर बनेर खटिने लैलाजस्तै सुस्तावासी धेरैको नेपाली नागरिकता नै छैन। तर पनि नेपाली भूमिका लागि लडिरहेका छन् । तीन हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा करिब ३ सय ५० जनाको मात्रै नागरिकता छ ।
बर्दियाको गुलरिया, रूपन्देहीको मर्चवार, रोहिणी, कपिलवस्तुका सीमामा पनि स्थानीयले भारतसँग प्रतिवाद गरेरै जमिन बचाएका छन् । सुस्तावासीको एउटै माग छ, भूमि फिर्ता, सीमास्तम्भ र नागरिकता छिट्टै मिलोस् । भारतले तोकेको नयाँ सीमासाँध मान्न उनीहरू तयार छैनन् । सिमलको रुख, कल्भर्ट, जंगल र नारायणी नदीलाई सीमा मानिएको छ ।
सुस्तावासीका अनुसार नेपाली भूभाग अझै परसम्म छ । भारतीय दैनिकजसो अतिक्रमण गर्न प्रयास गर्ने सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवाल बताउँछन् । १५ दिनअघि पनि हामीले बनाएको बाटो अतिक्रमण प्रयास भएको छ’, उनले भने । सुस्तामा पिलर भएरै बसिरहेका रामनन्द चमारले ज्यानै गुमाए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।