कुरिनटार, १८ जेठ । बन्दाबन्दीका कारण चूल्हो बाल्न गाह्रो भएका इच्छाकामनाका विपन्न परिवारका लागि नेपाल चेपाङ संघ इच्छाकामना चितवनले राहत हस्तान्तरण गरेको छ ।
अन्डेफ नेपालको आर्थिक सहयोगमा डेक नेपाल र नेपाल चेपाङ सघको समन्वयमा २१० बोरा चामल गाउँपालिकामा हस्तान्तरण गरेका हुन् ।

नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव समेत रहनुभएका लक्ष्मण चेपाङले एकद्वार प्रणाली मार्फत राहत वितरण गर्दा चेपाङ मात्र नभई छाक टार्न मुश्किल भएका अन्य समुदायका परिवार सामु पनि पुग्ने भएकाले गाउँपालिकामा हस्तान्तरण गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले चेपाङ संघ, अन्डेफ नेपाल र डेक नेपाल सौराहालाई धन्यवाद दिनुभयो । उहाँले चेपाङ बाहुल्यता रहेको यस गाउँपालिकाले विपद्को वेला आफ्नो दायित्व वहन गरेको बताउनुभयो । सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई एकद्वार प्रणाली मार्फत गाउँपालिकामा हस्तान्तरण गर्न अनुरोध गर्नुभयो ।