
हीरालाल गुरुङ
मुग्लिन,२७ वैशाख। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको एतिहासिक इच्छाकामना माता माइको मन्दिर निर्माणको काम रोकिएको छ । कोरोना भाइरस (कोभिड– १९) को रोकथामका लागि सरकारले लागु गरेको बन्दाबन्दीका कारण मन्दिर निर्माणको काम प्रभावित भएको हो ।
बन्दाबन्दीका कारण काठमाडौँबाट कालिगढहरु आउन नसकेपछि मन्दिर निर्माणको काम रोकिएको इच्छाकामना मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रासद बोहोराले बताउनुभयो ।
अध्यक्ष बोहोराले भन्नुभयो, “बन्दाबन्दीका कारण काठमाडौँबाट कालिगढहरु फर्कन सकेनन् त्यसैले मन्दिर निर्माणको काम अहिले रोकिएको छ, बन्दाबन्दी सकिएपछि मन्दिर निर्माणको कामलाई निरन्तरा दिनेछौँ ।”
१८ महिनामा निर्माण सम्पन्न हुने गरि गत असार देखि जगैबाट भत्काएर पुर्ननिर्माण थालिएको बताउनुभयो । तर यस अघि पनि काठ अभावले केही महिना काम रोकिएको र अहिले पनि बन्दाबन्दीले रोकिदाँ तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न कठिनाई हुने उहाँको भनाईछ । उहाँका अनुसार अहिले ३३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
मन्दिर निर्माणका लागि झण्डै ३ करोड लाग्ने अनुमान गरिएको छ । वागमती प्रदेश सरकार बाट रु. ५० लाख र इच्छाकामना गाउँपालिकाबाट रु.७५लाख बजेट उपलब्ध भइ काम सुरु गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष बोहोराले बताउनुभयो ।
अध्यक्ष बोहोराका अनुसार मन्दिर निर्माणका लागि आर्थिक अभाव पनि सिर्जना भएको छ। आार्थिक अभावका कारण पनि मन्दिर निर्माण कार्यमा अवरोध हुने अवस्था आउने उहाँको भनाइछ । मन्दिर निर्माणका लागि आर्थिक सहयोगको लागि पनि उहाँले अपिल पनि गर्नुभयो ।
इच्छाकामना मन्दिर प्रांगणमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्दछ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घन्ट र त्रिशूल पनि चढाउने गरिन्छ । मेलामा देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् । रातभर नाचगान र रमाइलो गरेपछि बिहान पूजाआजा गरिन्छ ।
इच्छाकामना मन्दिर सामुन्द्रिक सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश माछापुच्छे«सम्म देख्न सकिन्छ ।
मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने गरेको पूँजी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकको आवागमनमा वृद्धि हुँदै आएको उहाँको भनाइ छ ।
इच्छाकामना माता माई गोरखाको मनकामना माइको दिदी बहिनी मध्ये एक मानिन्छ ।