हिरालाल गुरुङ

चितवन, २५ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) का कारण नेपाल पनि ४५ दिन देखि लकडाउनको अवस्थामा छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लकडाउन गरिएको हो ।
लकडाउन पश्चात विपन्न दैनिक ज्यालादारी मजदुरी गरेर जीवनयापन गर्दे आएका परिवारहरु भने समस्यामा परेका छन् । चितवनको इच्छाकामना गाउँपालिकाका चेपाङ समुदाय पनि यतिबेला समस्यामा परेका हुन् ।


पाखो बारीमा उब्जाएको कोदो मकैले ६ महिना सम्म पनि खान नपुग्ने यस चेपाङ समुदायले बाँकी छ महिना भने अन्यात्र गएर दैनिक ज्यालादारी मजदुरी गरेर परिवार पाल्ने गर्छन् । तर अहिले ज्यालादारी मजदुरी गर्न नपाएपछि उनिहरुलाई बिहान बेलुका छाक टार्न मुश्किल भएका छन् ।
गाउँपालिकाले एक महिना अघि १० केजी चामल वितरण गरेका थिए । तर १० केजी चामल सकिसकेकोले अब घरमा चुल्हो बल्न नसक्ने अवस्था आएको दैनिक ज्यालादारी मजदुरी गरि परिवार पाल्दै आउनुभएका चितवनको इच्छाकामना ३ धुषाका गम बहादुर चेपाङले बताउनुभयो । अहिले काम गर्न नै नपाएपछि बिहान बेलुका छाक टार्न मुश्किल भएको उहाँको भनाईछ ।
उहाँले भन्नुभयो, “बारीको उब्जनीले ६ महिना पनि खान मुस्किल हुन्छ बाँकी ६ महिना बाहिर जिल्लाहरुमा गएर ज्याला मजदुरी गरेर परिवार पाल्ने हो तर अहिले अनिकालकै समयमा ज्याला मजदुरी ठप्प हुदाँ घरमा चुल्हो बल्न गाह्रो भएको छ गाउँपालिकाले दिएको १० केजी चामल पनि सकियो,। ”


अर्का स्थानीय सिद्धान्त चेपाङका अनुसार यहाँका चेपाङ समुदायका केहीले तरकारी खेती पनि गर्छन् तर फलाएको तरकारी समेत बजारमा बिक्री गर्न पाएनन् । बेच्ने बेला भएको काक्रो बोटमै कुहिएर खेर गएको उहाँको भनाईछ ।
उहाँले अब सरकारले आफुहरुलाई काम (रोजगार) दिनुपर्ने बताउनुभयो । दैनिक काम गर्न पाए मात्र परिवार पाल्न सकिने यहाँका चेपाङ सुमदायको भनाईछ ।
जग्गा जमिनको कमी भएका कारण पनि कृषिमा आत्मर र्निभर समेत बन्न नसकेको पनि उनिहरु बताउँछन् ।
धुषमा मात्र ५३ घर चेपाङ समुदायको परिवार छन् । अधिंकाशले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् ।
गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले भने चेपाङ समुदाय मात्र नभएर दैनिक ज्यालदारी गरि जीवन निर्वाह गर्दै आएका सम्पूर्ण परिवारका सदस्यहरुलाई इच्छाकामना गाउँपालिकाले विकास निर्माणका काममा लगाउने बताउनुभयो । अब गाउँपालिकाले विकास निर्माणका कामलाई पनि सुचारु गर्ने र गाउँपालिकाभित्रका विपन्न दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्दै आएका विपन्नहरुलाई रोजगार दिइने बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “अब विकास निर्माणका कामलाई विस्तारै कोरोनासंग जोगिदैँ आवस्यक सतर्कता अपनाई सुचारु गर्दैछौँ, सडक खाने पानी र विजुली लागयतका कामलाई निरन्तरता दिनेछौँ विकास निर्माण संगै रोजगार सिर्जना हुने छ जसले गर्दा राहात वितरण गर्नुपर्ने संख्या पनि घट्ने छ । ”
तत्काल चुल्हो बल्ने अवस्था नआए वडा कार्यालय अर्थात गाउँपालिकामा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नुभयो । त्यस्तो अवस्था आएमा तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।