कुरिनटार :  लामो समयको लकडाउनपछि घर हिडेका विभिन्न जिल्लाका सय जना भन्दा बढी मजदुरहरु धादिङ र चितवनको सिमाना बेनिघाट रोराङ गाउँँपालिका धादिङको मौवाखोलामा अलपत्र परेका छन् ।काठमाडौंबाट घर हिडेँका मजदुरहरुलाई मौवाखोलामा चितवन प्रहरीले रोकेपछि अलपत्र परेका हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका ४  का  दिल बहादुर चौधरीले आफुहरु घर बनाउने काम गर्दै आएको र लकडाउनपछि काम बन्द हुनुका साथै खान समस्या भएपछि घर जान काठमाडौँबाट हिडेको बताउनुभयो । चौधरी जस्तै काठमाडौँमा मजदुरी गर्ने विभिन्न जिल्लाका सय भन्दा बढि मजदुरहर काठमाडौमा बस्न सकस भएपछि कोही हिडेर त कोही ट्रकमा लुकीछिपी आएका हुन् । उनिहरुलाई चितवन प्रशासनले रोकपछि अलपत्र परेका हुन् ।

मौवाखोलाका स्थानीयहरुले पैदलयात्री मजदुरहरुलाई चितवन प्रशासनले रोकेकोमा विरोध गर्दै चितवनबाट धादिङ प्रवेश गर्ने कुनै पनि सवारी साधनहरु प्रवेश गर्न नदिएपछि स्थानिय र प्रहरीबिच सामान्य झडप समेत भएको थियो ।
पैदलयात्री मजदुरहरुलाई अलपत्र पार्न नहुने बताउँदै चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले उनिहरुलाई रोक्न नहुने बताउनुभयो । उहाँले काठमाडौँबाट नै रोक्नु पर्नेमा बीचबाटोमा रोक्नु नहुने बताउनुभयो ।

उपाध्यक्ष कृतिमार श्रेष्ठले पनि काठमाडौबाट बाहिरिएकाहरुलाई गाडीबाट नओराली जान दिदाँ जोखिम कम हुने भन्दै आफुहरु रोक्ने पक्षमा नरहेको बताउनुभयो । साथै उहाँले हरेक गाउँपालिकाले विभिन्न बाहिर जिल्लामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई खोजी गरि उद्धार नगर्दा यस्तो समस्या आएको बताउनुभयो । इच्छाकामना गाउँपालिकाले अन्य जिल्लामा अलपत्र परेका नागरिकहरुको खोजी उद्धार गरिएको बताउनुभयो ।
धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० अध्यक्ष अम्मर गुरुङले मजदुरहरुलाई गाडीबाट ओराल्दा यहाँका स्थानीयमा त्रास पैदा भएको बताउनुभयो ।

झडप पछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुखहरु समेतको उपस्थितिमा मौवाखोलामा वैठक बसेको थियो ।
प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीचको वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ । उक्त सहमती भएपनि अहिले साँझ सम्म यात्रुहरु अलपत्र अवस्था छन् । उनिहरु गन्तव्य तर्फ जान पाएका छैनन् ।

https://www.facebook.com/864050237104693/posts/1529430600566650/