खुल्ला छन् सब वायुमण्डलहरु खुल्लाछ बाटो तर ।
खुल्ला छन् बरु व्योममा वनचरी बन्दीछ मान्छे घर ।।
चिन्ता भित्र डुबेर राखुँ कसरी सन्तप्तमा हर्षको ।
के लेखौँ शुभकामना, मनभरी यस्तो नयाँ वर्षको ।।१।।

कोरोना त सर्‍यो भने अति छिटो फैलन्छ रे भन्दछन्।
बच्नेअन्न्य उपाय केहि नहुँदा मान्छे स्वयं बन्दछन्।।
मान्छेका विच आज विश्व भरमा फैलेछ सन्त्रास यो ।
के लेखौँ शुभकामना, मनभरी यस्तो नयाँ वर्षको ।।२।।

मान्छे जात, उमेर, वर्ग यसले भेद्भाव राख्दैन रे ।।
जङ्गी कानुन देश साँध बलियो छेक्वार मान्दैन रे ।।
यो वेला घरमा सुरक्षित बसी आफ्नै सुरक्षा निको ।
राखेँ यो शुभकामना, लिउँ भनी आसा नयाँ वर्षको ।।३।।

बच्चा बृद्ध युवा र स्वस्थ तगडा मान्छे बिरामी छरे ।
चिन्ता लाग्दछ आज विश्वभरमा केहुन्छ्होला भरे ।।
यो वेला मन पार्नुपर्छ दरिलो त्यो आत्मविश्वास को ।
राखेँ यो शुभकामना, लिउँ भनी आसा नयाँ वर्षको ।।४।।

कोरोना सँग त्रास मान्नु नपरोस् यस्को बनोस् ओखति ।
सारा विश्व छिटै निरामय चलोस् स्वतन्त्र हाम्रो गति ।।
राख्दै आस यही सुरक्षित भई बस्नु सबैले निको ।
राखेँ यो शुभकामना, लिउँ भनी आसा नयाँ वर्षको ।।५।।

 

कृष्ण प्रसाद पोखरेल
इच्छाकामना गा.पा, ३ चुम्लिङटार चितवन
शार्दूल विक्रीडित छन्द