काठमाडौं  : नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ ।

यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।  सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्। ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।