तेजविलास अधिकारी
इच्छाकामना

****
कमाउ धन्दाबाट
फुर्सद भएपछि ।
मेरो अन्तर्वार्ता
छापिदेला कस्ले ?
मेरो नेताजी
चिन्ता गर्नुहुन्छ ।
पत्रकार जगत,
जगत नै पत्रकार,
तात्तातो अनलाइनमा
लाइक र सेयर अनुसार
नेताजी अन्तर्वार्ता दिनुहुन्छ
अनि भन्नुहुन्छ
जनताको काममा
अहोरात्र दिनै नपाइ।
म र मेरा पुस्ता
लेखिरहेछौ प्रशंशा,
दिइरहेछौ शुभकामना ,
गरिरहेछौँ गौरव ,
राष्ट्रिय गौरवकै आयोजना मिल्ने आशामा जो सँग पनि मिल्ने
मेरा अग्रज मित्र,
मेरा जनप्रतिनिधि,
राजतंत्रकै युवा पञ्च सरह
कमाउ धन्दालाई
गरिरहेछौँ समर्थन।
कमाउ धन्दा यो समयको
सही विचार हो भन्दै
मेरा अनुज डन पुस्ता
नुहाइरहेछ विचारले
सुनको सिन्काले झिकेर
दन्तमा आड्किएको खान्की
खाइरहेछ युवा नेता
बफ, बिफ र मटनसंग डिनर
म पनि कमाउ धन्दा वरिपरि
खोजिरहेछु
भोको पेट रित्तिएको चेत
अनि
अलिकति स्वाभिमान
बालुवा ठेकेदारलाई
दलको नेता मानेर,
शिक्षकलाई पार्टी प्रतिनिधि ठानेर,
खै !
मेरो भोकको राजनीति
मेरो समृद्ध नेपालको चाहना
खै!
कहिले त लाग्छ
एकातिरको सातु
अर्कोतिरको ….।
हुनेत होइन मेरो चाहना ?