काठमाडौं :  भाडामा बस्ने विद्यार्थीलाई जातकै कारण कोठा छाडेर जान दबाब दिने सरकारी कर्मचारीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ ।

पीडित छात्रा दीपा नेपालीले सीमा प्रशासन कार्यालय लामाबगर दोलखाका प्रमुख श्रीकृष्ण बिडारीसहित चारजनाविरुद्ध २० फागुनमा महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दर्ता गरेकी थिइन् ।

प्रहरीले २१ फागुनमै पक्राउ पुर्जी लिएको थियो । तर, आइतबार साँझसम्म पनि अभियुक्तहरू पक्राउ परेका छैनन् ।

दीपाले बिडारी, बिडारीकी पत्नी राधिका, सोही घरमा डेरा बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीविरुद्ध गत मंगलबार जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरेकी थिइन् ।

बालाजु वृत्त प्रमुख डिएसपी रञ्जितसिंह राठोरले मुद्दा दर्ता भएको भोलिपल्टै पक्राउ पुर्जी जारी भएको बताए ।

‘कतिपय मुद्दामा तुरुन्तै पक्राउ गर्नुपर्दैन, अनुसन्धान जारी छ,’ डिएसपी राठोरले भने ।

पीडितले भने गृहकै कर्मचारी भएकाले प्रहरीले उजुरी गर्न पनि अटेरी गरेको र अहिले कारबाहीका लागि पनि आनाकानी गरिरहेको गुनासो गरिन् ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।