चितवन : होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकारको निर्णय अनुसार नै होली खेल्न यसबर्ष कडाई गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए । उनले सामान्य पारिवारिक भेटघाट र शुभकामना आदान–प्रदान मात्र गर्न आग्रह गरिएको जानकारी दिए ।
प्रशासनले सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ ।
प्रशासनले भनेको छ, ‘ होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ । प्रशासनले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपील गरेको छ । प्रशासनको अपिल अवज्ञा गरे कारवाही गरिने चेतावनी समेत दिइएको छ ।