काठमाडौं  : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिदैँछ । उनी आजै आज अस्पताल भर्ना हुँदैछन् । प्रधानमन्त्री अस्पताल जानुअघि आज बिहान राष्ट्रिय योजना आयोगको बैठक उनकै अध्यक्षतामा बस्यो ।

आयोगको सो पूर्ण बैठकले १५औं योजना पारित गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजनालाई पूर्णता दिएको हो ।

आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए ।
उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको बताए । १५ औं योजनाको आधारपत्र भने गत बैशाख १७ गते पारित भएको थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको सुझाव र अर्थमन्त्री डा। युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत बताए ।

त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको उनले बताए । यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै, सार्वजनिक निजी साझेदारीअन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताए ।

१५औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पुरा गर्ने गरी २५ वर्षे दीर्घकालिन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तै संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ ।