
तनहुँ : जिल्लाकै सबैभन्दा अग्लो डाडाँमा रहेको छिम्केश्वरीको प्रवद्र्धनका लागि आँबुखैरेनी देखि छिम्केश्वरीसम्म उकाली दौड प्रतियोगिता हुने भएको छ । फागु पूर्णिमाको अवसरमा आयोजना हुन लागेको छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ मा आँबुखैरेनी देखि छिम्केश्वरीसम्म उकाली दौड प्रतियोगिता हुने भएको हो । आँबुखैरेनी गाउँपालिका वडा नं। ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल छिम्केश्वरी माईको प्रचार प्रसार तथा प्रवद्र्धनको लागि यहि फागुन २५ गते देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ सञ्चालन हुन लागेको छ । सोहि सन्दर्भ पारेर आँबुखैरेनी बजार देखि छिम्केश्वरीसम्म उकाली दौड प्रतियोगिता हुन लागेको हो । उक्त दौड प्रतियोगिता महोत्सवको अन्तिम दिन फागुन २७ गते सञ्चालन हुने प्रतियोगिताको व्यवस्थापन गरिरहेको लायन्स क्लव अफ आँबुखैरेनीका अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिनुभयो । हरेक वर्ष शिवरात्रीको अवसरमा स्वास्थ्यका लागि दौड भन्ने मूल नाराका साथ लायन्स क्लव अफ आँबुखैरेनीले सत्रसय देखि आँबुखैरेनीसम्म दौडने गरी आयोजना गर्ने गरेको लायन्स मिनि म्याराथुन प्रतियोगिताको छैटौं संस्करण यसपटक छिम्केश्वरी पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुन लागेकोले यहि काक्रममा नै समावेश गरि छिम्केश्वरी उकाली दौड प्रतियोगिता गर्न लागिएको पनि क्लवका अध्यक्ष अधिकारीले बताउनुभयो । प्रतियोगितामा सहभागी भै प्रथम हुनेले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले नगद २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले नगद ५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।