काठमाडौं : अमेरिकाले एमसिसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको छ । एमसिसी सम्झौताको आधार परिमार्जनपछि अनुमोदन गर्नुपर्ने नेपालको प्रस्तावमा अमेरिकी अधिकारीहरूले यस्तो अडान राखेका हुन् ।
एमसिसीबारे उत्पन्न विवाद र समाधानको उपायबारे सरकारले नेकपा कार्यदलको प्रतिवेदन आउनुअघि नै अमेरिकी अधिकारीहरूसँग छलफल गरेको थियो ।
अमेरिकीहरू एमसिसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक रहेको छलफलमा संलग्न एक अधिकारीले बताएका छन् ।
एमसिसीबारे नेपालमा विवाद उत्पन्न भएपछि अमेरिकाले नौ महिनामा दर्जन बढी उच्च अधिकारी र राजनीतिक नेतृत्व पठाइसकेको छ ।
एमसिसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नियमित भ्रमण गरी फर्केको एक सातापछि अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोली आएको छ ।
बेराले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा। युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा स्पष्ट पारेका छन् ।
पछिल्लो समयमा सरकारले अमेरिकासँग सम्झौताका कुनकुन बुँदा संशोधन गर्ने भन्ने विषयमा छलफल अघि बढाएको परराष्ट्रका एक उच्च अधिकारीले जानकारी दिए ।
चन्द्रशेखर अधिकारीले आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर लेखेका छन् ।