काठमाडौं : राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो ।
यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ ।
एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको छ ।
डेढ वर्षको कसरतपछि गौतम ‘मनोनीत सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन् ।
‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको छ । औपचारिक निर्णय हुन बाँकी छ । कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ,’ नेकपा सचिवालयका एक सदस्यले भनेको आजको नयाँ पत्रिका दैनिकमा नेत्र पन्थी र शुरोजंग पाण्डेले खबर लेखेका छन् ।