काठमाडौं : सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै ‘छाया सरकार’ बनाएको कांग्रेसले आफ्नो गतिलाई थप सशक्त बनाउने तयारी गरेको छ ।सरकारले संविधान, विधि र प्रक्रिया मिचेर काम गरिरहेको, अनियमितता, महँगी र भ्रष्टाचार बढेको तथा जनताका पक्षमा काम गर्न नसकेको, मन्त्रीका गतिविधि दिनदिनै विवादित बन्न थालेको भन्दै कांग्रेसले ‘छाया सरकार’को स्वरूपलाई सशक्त बनाउन लागेको हो ।
त्यसका लागि कांग्रेसले छाया सरकारमा रहेका संयोजक र सदस्यसहितको बैठक आइतबार (आज)का लागि बोलाएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा डाकिएको बैठकमा सरकारका गतिविधि, पार्टीले संसद्मा खेल्ने भूमिका र समग्र राजनीतिक अवस्थासहितका विषयमा छलफल हुने प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा। डिला संग्रौलाले जानकारी दिइन् ।
बैठकमार्फत कांग्रेसले ‘छाया सरकार’मा रहेका संयोजक र सदस्यहरूलाई जिम्मेवारीअनुसार सक्रियता देखाउन निर्देशनसमेत दिने तयारी गरेको छ ।
कांग्रेस संसदीय दलले सरकारका गतिविधिमाथि निगरानी गर्न भन्दै दलको विधानको धारा ९ को उपधारा ५ ९क० अनुसार संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकारका रूपमा काम गर्न गत ६ जेठमा २१ जना संयोजक र ३७ जना सहयोगी सदस्य तोकेर स्वरूप तयार गरेको थियो ।
हरेक मन्त्रालयस्तरीय समन्वय समितिमा संयोजक र दुई सदस्य छन् । उनीहरूलाई मन्त्रालयको काम कारबाहीको सूक्ष्म रूपमा निरगानी र खबरदारी गर्ने अधिकार रहेको आजको राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।