काठमाडौं :  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको संसद्‌बाट पारित गराउन अमेरिकाले कूटनीतिक दबाब बढाएको छ ।यसका लागि अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण बाक्लो बनाएका छन् ।

दुई साताअघि एमसिसीका युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिका हेर्ने सहायक उपाध्यक्ष जोनाथल ब्रुक्स नेपाल आएका थिए ।

यति बेला फेरि अमेरिकी कंग्रेसको एसिया प्रशान्त क्षेत्र हेर्ने अन्तर्राष्ट्रिय मामला उपसमितिका अध्यक्ष एमी वेरासहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।

बिहीबारदेखि चार दिनसम्म नेपालमा रहने प्रतिनिधिमण्डलले अमेरिकाको परराष्ट्र नीति र नेपालमा अमेरिकी सहयोगको समीक्षा गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘प्रतिनिधिमण्डलले सरकारी अधिकारी, नागरिक समाजका अगुवा, दूतावासका कर्मचारी र एमसिसीका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नेछ’, दूतावासद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्नुअघि भारत र श्रीलंकाको भ्रमण गरेको थियो । संसद्‌बाट एमसिसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दलभित्र मत विभाजन भएको स्थितिमा यो भ्रमण भएको छ ।

आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।