काठमाडौं :  सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाइ गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न कुनै उजुरी कुर्नु नपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले सार्वजनिक भएको अडियो नै अनुसन्धानका लागि पर्याप्त प्रमाण भएको बताएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

‘अख्तियारमा उजुरीका धेरै स्रोत हुन्छन्, सञ्चारमाध्यममा आएका विषयलाई पनि उजुरीका रूपमा लिएर छानबिन अघि बढाउन सकिन्छ,’ प्रवक्ता कोइरालाले भने ।

तर, अख्तियारले अहिलेसम्म अनुसन्धान भने सुरु गरेको छैन । आइतबार कार्यालय खुलेपछि थप भन्न सक्ने कोइरालाको भनाइ छ ।

‘अनुसन्धान सुरु हुने विषयमा म अहिले थप केही बोल्दिनँ,’ उनले भने, ‘आइतबार आयोग खुल्छ, त्यसपछि थप कुरा गर्न सकिन्छ ।’

नयाँ पत्रिका दैनिकमा समाचार छ ।