काठमाडौं  :  आज विहानैदेखि देशभर पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।