![](https://ichchhakhabar.com/wp-content/uploads/2020/02/Prajatantra.jpg)
काठमाडौँ : फागुन ७ गते आज । राणा शासनको अन्त्य भइ देशमा प्रजातन्त्र आएको दिनको स्मरण गर्दै प्रजातन्त्र दिवस मनाईंदैछ । जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको सम्झनामा आज देशभर ७०औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन लागिएको हो ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो। जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो। फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले काठमाडौंमा प्रत्येक वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ। ७०औँ प्रजाातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ।
विक्रम सम्बत् २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई मजबुद बनाउन अहिलेसम्म विभिन्न जन आन्दोलनहरु हुँदै आएका छन् । विशेष गरी २०४६ सालको आन्दोलन र ०६२र०६३ को आन्दोलनलाई प्रजातन्त्र मजबुद बनाउने आन्दोलनका रुपमा लिइन्छ । २००७ साल यता भएका विभिन्न आन्दोलनमा सयौंले प्रजातन्त्रका लागि ज्यानको आहुती दिएका छन् । प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुती दिएका शहिदहरुको विशेष सम्झना गर्दै आज देशभर ७०औं प्रजातन्त्र दिवस मनाइदै छ ।