तनहुँ :  फागु पुर्णिामाको अवसर पारेर तनहुँको सबै भन्दा अग्लो डाडामा रहेको प्रसिद्ध धार्मिक स्थल छिम्केश्वरिमा ३ दिने पर्यटन तथा सास्कृतिक महोत्सव हुने भएको छ ।
सोमबार आबुखैरेनीमा पत्रकार सम्मेलन गरि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने आयोजकले जानकारी दिएको हो ।
छिम्केश्वरिको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले तनहुँको आँवुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा आगामी फागुन २५ गतेबाट महोत्सव गर्न लागिएको हो । गाउँपालिकाको समन्वय तथा छिम्केश्वरी पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सव तीन दिनसम्म चल्नेछ ।
छिम्केश्वरी उकाली खुल्ला दौड प्रतियोगिता, छिम्केश्वरी पदयात्रा, लाब्दी(हिलेखर्क होमस्टे मितेरी दौड प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेको सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।
‘दुई गाउँबीचको सम्बन्ध थप सुमधुर बनाउन होमस्टेबीच दौड प्रतियोगिता गर्न लागेको छिम्केश्वरी पर्यटन विकास समितिका सल्लाहकार हरिसिंह गुरुङले बताउनुभयो । उहाँका अनुसार ‘प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन पाउनेछन् ।
महोत्सवमा विद्यालयस्तरिय कौरा नृत्य प्रतियोगिता, छिम्केश्वरी–घुमाउने डाउनहील माउण्टेन वाइकिङ प्रतियोगिता, छेलो हान्ने तथा लिङ्गो चढ्ने प्रतियोगिता, पर्यटन विकास सम्बन्धी अन्तरक्रिया, फागु विशेष कार्यक्रमलगायतका गतिविधि हुने उहाँले बताउनुभयो । । ‘भूकम्प पश्चात अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन छिम्केश्वरी पदयात्रा कार्यक्रम राखेका हौ, यसले नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको भ्रमण वर्ष २०१९–२०२२ लाई पनि सहयोग पुग्ने अपेक्षा गरेको गुरुङले बताउनुभयो ।
पुलजीप (मुग्लिन)देखि लाब्दी–छिम्केश्वरी(हिलेखर्क हुँदै बन्दीपुरसम्मको उक्त पदयात्रा अवधिभर विभिन्न पर्यटकीयस्थलको अवलोकनसँगै स्थानीय अर्गानिक खानाका परिकारको स्वाद लिन सकिने उहाँले बताउनुभयो ।
यो क्षेत्रमा रहेको होमस्टे प्रवर्द्धनका गर्ने उदेश्य पदयात्राको रहेको उहाँको भनाइ छ ।
कृषी तथा वन पैदावार को प्रद्धर्शनी, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि महोत्सवमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
छिम्केश्वरीको प्रवर्द्धन गरी पर्यटन भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो । । ‘भ्रमण वर्षलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले छनौट गरेको पर्यटकीयस्थल मध्ये छिम्केश्वरी पनि एक हो,’ उहाँले भन्नुभयो, महोत्सवले यो ठाउँको प्रवर्द्धन पनि हुनेछ, अनि भ्रमण वर्षलाई पनि सहयोग पुग्छ भन्ने अपेक्षा लिएका छौ ।’
महोत्सव सम्पन्न गर्न करिव १३ लाख लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । २५ हजार बढीले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको उहाँले बताउनुभयो ।
करिब २५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको तीव्र रुपमा तयारी भइरहेको आयोजकले जनाएको छ ।