काठमाडौं : बानेश्वरकी एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सिन्नन् । त्यही समय ठूलो पाठ सिकेकी छन् उनले ।अधिकारी भन्छिन्, ‘जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ । तातो पानी खोलेँ । सानो बाथरुम भएकाले त्यसमा धेरै बाफ जम्मा भएर म त नुहाउँदा नुहाउँदै निसास्सिएँ, त्यसपछि केही पत्तो भएन ।’
धन्न उनकी बहिनी पनि नुहाउन हतार भएकाले बाथरुममा आइपुगिन् र बाहिरबाट ढोका खोलेर एलिनालाई निकाल्ने काम भयो ।
समयमै बाहिर आएकाले ज्यान पनि बच्यो, नत्र जे पनि हुन सक्थ्यो ।
राजधानीका धेरैजसो घरमा बाथरुम सानो हुने र भेन्टिलेसनसमेत नहुने भएकाले यस्तो समस्या आउने गरेको छ ।
‘त्यो घटनापछि बाथरुमको झ्यालमा पर्दा हालेर भेन्टिलेसन हालेको छु,’ उनले भनिन् ।
बाथरुममा लडेपछि गणित पढाउने शिक्षक रामनाथ चापागाईंलाई प्यारालाइसिस भयो । छ महिनापछि अलिअलि हिँडडुल गर्न सक्ने भएपछि उनले विद्यार्थीलाई घरमै बोलाएर पढाउन थालेका छन् ।
‘हामीले सामान्य सुरक्षामा ध्यान नदिँदा ठूलो घटना निम्त्याउन सक्छ,’ उनले भने, ‘त्यसैले बाथरुम, ट्वाइलेट सधैँ सफा र सुरक्षित राख्न जरुरी छ ।’
चिकित्सक डा। मनिष श्रेष्ठ बाथरुममा अक्सिजनको अभावमा निसास्सिएर मृत्यु भएको हुनसक्ने बताउँछन् ।
चिसो पानीमा नुहाउँदा उच्च रक्तचापका बिरामीलाई हृदयाघात हुनसक्छ तर तातो पानीमा त्यस्तो समस्या नहुनुपर्ने हो । उनले भने, ‘ढोका पूर्ण रूपमा बन्द हुने खालको भएकाले पनि अक्सिजनको अभावमा निसास्सिएर मृत्यु हुनसक्छ ।’
चिसोको समयमा झ्यालढोका बन्द गरेर हिटरलगायत विभिन्न सामग्री प्रयोग गरेर सुत्दा मानिसको ज्यान जाने गरेको डा। श्रेष्ठ बताउँछन् ।
कोठामा जम्मा भएको ग्यास बाहिर जान नपाउँदा मानिसको ज्यान जाने गरेको उनले बताएको खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।