काठमाडौँ :  नेपाल प्रहरीको महानिरीक्षकमा एक नम्बर प्रदेशका डिआइजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ। ज्ञवालीले अर्का प्रतिस्पर्धी डिआइजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७ औँ आइजीपी भएका हुन्। सरकारले प्रहरी ऐन ०१२ र प्रहरी नियमावली ०७१ को नियम ४१ मा नेतृत्व गर्न सक्ने कुशलता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र ज्येष्ठतासहित ६ वटा आधारमा टेकेर ज्ञवालीलाई आइजीपी बनाएको हो। सोमबार बसेको बैठकले निर्णय लिन नसकेपछि मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवलीलाई आइजीपी बनाउने निर्णय गरेको हो। ज्ञवालीलाई आइजीपी बनाउने विषयमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको थियो। दुई नेताबीचको छलफलपछि वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आइजीपी बनाउने प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरषद्‍मा लगेको थियो। २६औँ आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पूरा गरी मंगलबारदेखि अवकाश पाएसँगै मन्त्रिपरिषद्ले ज्ञवालीलाई नयाँ आइजीपी बनाएको हो। ज्ञवली अबको पाँच महिनासम्म उक्त पदमा रहनेछन्। असार अन्तिम साता उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै अवकाशमा जानेछन्। आइजीपी खनालसहित तीन एआइजी र १८ डिआइजीले ३० वर्षे उमेर हदका कारण मंगलबारबाट अवकाश पाएका छन्। २०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै खनाल महानिरीक्षक बनेका थिए।