चितवन :  जिल्ला कारागार भरतपुरमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो ।
कारागार प्रमुख जेलर कमलप्रसाद काफ्लेका अनुसार उनको गएराती १२ः३४ बजे मृत्यु भएको हो । मानव तस्कर मुद्दामा उनलाई अदालले १० वर्ष कैद सजायँ र ५० हजार जरिवाना तोकेको थियो । २०७३ साउन १५ गते पक्राउ परेका जफरलाई क्यान्सरको उपचारका लागि कात्तिक ९ गते भरतपुर कारागारमा ल्याएको काफ्लेले जानकारी दिनुभयो ।
क्यान्सर अस्पताल नजिकै भएको हुँदा अन्य जिल्लाबाट समेत क्यान्सर लागेका कैदीबन्दीलाई जिल्ला कारागार भरतपुरमा ल्याइने गरेको काफ्लेले बताउनुभयो ।