काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन सरकारलाई निर्देशन दिएको छ ।उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको आयोगले जनाएको छ ।
वुहानमा रहेका नेपालीका अभिभावकले आइतबार आयोगमा ज्ञापनपत्र बुझाएका थिए ।त्यसलगत्तै बसेको आयोगको आकस्मिक बैठकले आफ्ना नागरिकलाई सुरक्षित रूपमा छिटो स्वेदश फर्काउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो ।
‘चीनमा रहेका नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमै बन्दीजस्तो जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएकाले जति लामो समय चीनमा रह्यो त्यती नै उनीहरू संक्रमणको जोखिममा रहन्छन्,’ बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको उच्चस्तरीय समितिले चीनमा रहेका नेपालीको उद्धार गर्न र उनीहरूलाई दुई हप्ता सुरक्षित ठाउँ (क्वारेन्टाइन)मा राख्न ६ करोड खर्च लाग्ने प्रस्ताव तयार गरेको छ ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पेस हुने समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।