
काठमाडौं : खानेपानी मन्त्रालयले हाल ८९ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँचमा पुगेको जनाएको छ ।पानी नआए पनि पूर्वाधार भने पुगेको जनाइएको छ ।
मन्त्रालयको वार्षिक समीक्षा प्रतिवेदन अनुसार सन् २०१० सम्म ८१ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुगेकोमा हाल ८९ प्रतिशतलाई आधारभूत खानेपानी सेवा पुगेको दाबी गरेको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सन् २०१५ सम्म १५ प्रतिशत जनसङ्ख्यालाई मध्यम स्तरको गुणस्तरीय खानेपानी सेवा पुगेकोमा हाल उक्त सेवास्तरको खानेपानी २१ प्रतिशत जनसङ्ख्यालाई उपलब्ध भएको छ ।
गएको दुई वर्षमा ६६ वटा सहरी तथा अर्ध सहरी खानेपानी आयोजनाहरू सम्पन्न भई पाँच लाख ६७ हजार ७८ अर्थात् दुई प्रतिशत जनसङ्ख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।