चितवन : नारायणी नदीमा संचालन हुन लागेको पानीजहाज चढ्न चाहनेहरुको लागि टिकट खुल्न लागेको छ । नारायणी नदीमा फागुनदेखि सानो पानीजहाज (क्रुजसीप) संचालन गर्ने तयारी भइरहेको छ । त्यसमा चढ्न अनलाइनबाट टिकट बुक गर्न थालिएकाे छ । क्रुजसीप निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुरमा निर्माण थालेको हो ।

इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले क्रुजसीप निर्माण केही ढिलाइ भएको बताउनुभयो। कँडेलले मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेपछि सानोजहाज सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।’ उहाँले भन्नुभयो, ‘त्यसपछि पानीजहाज संचालन हुन्छ । पानीजहाजमा बिहान नास्ता, दिउँसो खाना र साँझ फेरि खाना समेत दिने तयारी गरेका छौ । त्यसको लागि अहिलेदेखि नै टिकट बुकिङ हुन थालेको छ ।’

प्रबन्ध निर्देशक कँडेलका अनुसार बाहिर तयार पारिएको खाना क्रुजमा तताएर खुवाउने व्यवस्था मिलाइँदैछ । जहाजमा नाचगानमा रमाउने व्यवस्था समेत हुनेछ । कलाकारसहित बारको व्यवस्था गरिने कँडेलले जानकारी दिनुभयो । पानीजहाजको भुइँतलामा ९० कुर्ची समेत राखिनेछ । पानीजहाज बीचमा ११० र छतमा २० जनासम्म अट्ने हिसाबले निर्माण गरिएको उहाँले उल्लेख गर्नुभयो । यात्रुलाई ब्रेकफास्टमा दुई घण्टाको र लञ्च तथा डिनरमा तीन/तीन घण्टाको यात्रा गराइने कँडेलले बताउनुभयो । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।

ज्ञानेश्वर सामुदायिक वनसंगै नारायणी नदी छेउमा जहाज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उहाँले बताउनुभयो । क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक विदेशी छन् । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि करिब १५ करोड रुपैयाँ खर्च भएको जनाइएको छ । रासस