
कुरिनटार, २ माघ । चितवनको इच्छाकामनाका चेपाङ समुदायको सामाजिक तथा आर्थिक परिवर्तनका लागि परियोजना सुरु भएको छ । सामाजिक कार्यमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टले इच्छाकामना गाउँपालिकासंगको सहकार्यमा यस क्षेत्रका स्थानीय चेपाङ समुदायको आर्थिक सामाजिक, शिक्षा स्वास्थ्य लागायतको परिवर्तनका लागि “सवै यात्राको सुरुवात एक सपनाबाट हुन्छ ”भन्ने नाराका साथ परियोजना सुरु गरिएको हो ।
विभिन्न प्रतियोगिता मार्फत यहाँका स्थानीयमा परिवर्तन गर्ने परियोजनाको लक्ष्य रहेको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो ।
अध्यक्ष धु्रव गिरीले यस अघि चितवनको कालिका नगरपालिकामा यो परियोजना सफलताका साथ सम्पन्न गरिसकेको बताउनुभयो । उहाँका अनुसार सपना भिलेज सोसियल इम्प्याक्टले वि.सं २०७३ सालमा कालिका नगरपालिकाको वडा नम्बर १० र ११को साविकको सिद्धि गाविसबाट यो परियोजना सुरु गरेको थियो ।परियोजना सफलताका साथ सम्पन्न भएपछि यस इच्छाकामना गाउँपालिकामा पनि गाउँपालिकासंग सहकार्य गरि परियोजना सुरु गरिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“हामीले यस अघि पनि चेपाङ समुदायको जीवनस्तर परिवर्तनका लागि कालिका नगरपालिकामा सफलताका साथ परियोजना संचालन गरिसकेका छौँ, परियोजनाले सरसफाई, घर, करेसावारी, शिक्षा, स्वास्थ्य आथिर्क आयआर्जन लगायतमा परिवर्तन गर्न सफल भएका छौँ, यहाँको पनि यी विषयहरुमा कमजोर रहेको पाइएकाले परियोजना सुरु गरेका हौँ।” गाउँपालिकाका विकट वडा इच्छाकामना १ मा संचालित परियोजनाका लागि करिव दुई करोड ५० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।
तीन वर्ष सम्म चल्ने परियोजनाको बुधबार एक कार्यक्रमकाबिच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङले उद्घाटन गर्नुभयो । परियोजनाको उद्घाटन गर्दै अध्यक्ष गीता कुमारी गुरुङले गैरसरकारी संस्थाले निश्चित समयसम्म काम गर्ने भएकाले यहाँकै स्थानीय आफ्नो जीवन परिवर्तनका लागि जागरुक हुनु पर्ने बताउनुभयो । गाउँपालिकाको प्रत्येक वडाको डाडाँमा बाटो,खानेपानी पुगेपनि स्थानीयमा मानसिक परिवर्तनको खाँचो रहेको उहाँको भनाई थियो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “विकास भनेको बाटो घाटो वनाउनु मात्रै होइन मानसिक परिवर्तन गर्दै आर्थिक विकासमा लाग्नुपर्छ, आर्थिक विकासका लागि मानिसमा चेतनाको विकास आवस्यक हुन्छ । ”
परियोजना सो वडाको ४ सय ८० घरधुरीमा लागू हुनेछ । चितवनकै अग्लो स्थानमा रहेको पर्यटकीय क्षेत्र सिराईचुली समेत रहेको इच्छाकामना १ चेपाङ समुदायको वाहुल्यता रहेको वडा हो ।
सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले अन्तर घर,अन्तर विद्यालय,अन्तर स्वास्थ्यकर्मी,अन्तर कृषक,अन्तर आमा समुहबीच प्रतिस्पर्धा गराएर उनीहरुमा परिवर्तन बताउनुभयो । उनीहरुले आफ्नै लगानीमा गरेको परिवर्तन पछि उत्कृष्ठ ठहरिएकाहरुलाई पुरस्कार स्वरुप नगद प्रदान गरिने कार्यक्रम निर्देशक वस्नेतले बताउनुभयो ।उहाँका अनुसार तीन वर्षे परियोजनाको प्रत्येक ६÷६ महिनामा उनीहरुलाई पुरस्कृत गरिने छ । स्थानीयको स्वास्थ्य,सरसफाई,आय–आर्जन,शिक्षा लगायतका क्षेत्रमा प्रतिस्पर्धा गराईनेछ ।
पछिल्लो जनगणना अनुसार २५ हजार १२ जना जनसंख्या रहेको यस गाउँपालिकामा चेपाङको संख्या ९ हजार रहेका छन् ।