काठमाडौं :  आज माघ शुक्ल पञ्चमीका दिन बिहीबार विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ ।

फागुन र माघ महिना शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

‘‘यो पटक बिहीबारका दिन यो पर्व परेकाले ज्योतिषशास्त्रमा बिहीबार वृहस्पतिको हुँदा वृहस्पतिलाई ज्ञान सीप शिक्षाको सुरुआत गर्दा राम्रो हुने ग्रह योग मानिएकाले यो दिनको सीप सिकाइले राम्रो फल दिन्छ,’ ज्योतिषी डा। सुनिल सिटौला बताउँछन् ।

बिहीबार बिहान १०ः५२ बजेसम्म पञ्चमी परेकाले यो समयभित्र सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गर्न शुभ हुने डा। सिटौला बताउँछन् ।

यो समयमा विवाह, व्रतबन्ध, बेलविवाह, नवगृह प्रवेश, घरको भूमि पूजालगायतका शुभकार्य गर्दा साइत पर्खन पर्दैन ।

सरस्वती पूजासहित यो दिन कामरतिको पनि पूजा गर्ने प्रचलन छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधान तोकिएको छ ।

ललितपुर लेलेको सरस्वती कुण्ड, काठमाडौँ विशालनगरको नील सरस्वती, मैतीदेवीस्थित सरस्वती, खलङ्गा प्यूठानको सरस्वती मन्दिर, घट्टेचौर पालुङ मकवानपुरको सरस्वती, सूर्यपूरा रुपन्देहीको सरस्वती र सल्लेरीको सरस्वती मन्दिरमा यो दिन मेला लाग्छ ।