
चितवन : गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ हुने धनधान्याचल महायज्ञ अवधिभर नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस चितवनले जिल्लामा कुनै पनि कार्यक्रम नगर्ने भएका छन् । महायज्ञ सफल बनाउन खट्ने भएकोले दुबै पार्टील १९ देखी २६ गतेसम्म जिल्लामा कुनै पनि कार्यक्रमहरु नगर्ने भएका हुन् ।
कम्युनिष्ट पार्टी नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले महायज्ञ अवधिभर पार्टीको सामान्य बैठक बाहेकको ठुला कार्यक्रमहरु नगरिने जानकारी दिए । ‘अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बिषय निकै महत्वपूर्ण छ परियारले भने, ‘यसमा चितवनका राजनीतिक दलहरुको भूमिका पनि निकै महत्वपुर्ण हुन्छ त्यसैले हामीले महायज्ञ अवधिभर कुनै ठुला कार्यक्रम नगर्ने निर्णय गरेका छौं ।’
पार्टीको दैनिक बैठकहरु बाहेक ठुला आमसभा, प्रशिक्षण जस्ता कार्यक्रमहरु भने नहुने उनले बताए । यस्तै उनले रंगशाला निर्माणार्थ हुने महायज्ञमा नेकपा चितवन तन मन धनले सहयोग गर्न तयार रहेको बताए ।
यस्तै नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले पार्टी पूर्ण रुपमा महायज्ञ सफल बनाउने अभियानमा लाग्ने भएकोको यो अवधिभर कुनै कार्यक्रम नगरिने जानकारी दिए । ‘महायज्ञ अवधिभर हामी रंगशालामा नै केन्द्रित हुनेछौं श्रेष्ठले भने, ‘१९ देखी २६ गतेसम्म महायज्ञलाई असर पर्ने गरी कुनै कार्यक्रम गर्दैनौ ।’
उनले सबै कार्यक्रमहरु तत्कालको लागि थाती राखेर पार्टी महायज्ञ सफल बनाउन लागि पर्ने बताए । उनले रंगशाला राष्ट्रकै गौरभको परियोजना भएकोले नेपाली कांग्रेस आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको समेत बताए । रंगशाला चितवनमा नै निर्माण भईरहेकोले कांग्रेस चितवन महायज्ञ अवधिभर मात्र नभई अन्य कुनै पनि बेला आवश्यक सहयोग गर्न तयार रहने उनको भनाई छ । यस्तै उनले महायज्ञ सफल बनाउन चितवन लगायत सम्पूर्ण नेपालीलाई आग्रह समेत गरे ।
चितवनको रामपुरमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी २६ गतेसम्म धनधान्याचल महायज्ञ हुँदैछ । महायज्ञमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहनेछन् । महायज्ञको तयारी तिब्र गतिमा भईरहेको छ ।
यसैबीच १९ गतेबाट शुरु हुने महायज्ञको उद्घाटन अघी निकालिने शोभा यात्राको बिषयमा भरतपुर महानगरपालिकामा छलफल भएको छ ।