काठमाडौं – साझा पार्टीका स‌ंयोजक रवीन्द्र मिश्रले मंसिर १४ को उपनिर्वाचनमा सोचेजस्तो परिणाम नआएकोमा चिन्ता व्यक्त गरेका छन्। आइतवार कास्की क्षेत्र नम्बर २ को पनि परिणाम आएपछि उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै साझा पार्टीले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

‘उपचुनावले साझा पार्टीले छोटो समयमा जे गर्यो, त्यसमा थप धेरै मेहनत गर्नु पर्ने सन्देश दिएको छ’, उनले भनेका छन्।

मिश्रले यो उपनिर्वाचनमा आफ्ना लागि असफलता मिले पनि कयौँ विकृतिहरुलाई अनुमोदन गरिदिएको जिकिर गरेका छन्। उनले भ्रष्टाचार र काण्डहरुलाई यो परिणामले मान्यता दिएको दाबी गरे।

‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ’, उनले भनेका छन्, ‘जुन चिन्ताजनक छ।’

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की र भक्तपुर दुवैमा उत्साहजनक नतिजा निकाल्न सकेन। भक्तपुरका उम्मेदवार सुरजा प्रधान र कास्की २ की उम्मेदवार रजनी केसीले एक हजार पनि भोट ल्याउन सकेनन्।