कुरिनटार : गत आईतबार फिस्लिङ प्रहरी हिरासतमा सेनाका जवान राम कडेँलको मृत्यु प्रति इच्छाकामना गाउँपालिकाले दुख व्यक्त गरेको छ । आज गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै प्रहरी हिरासत भित्रै अचेत अवस्थामा भेटिनु र मृत्यु हुनु सुरक्षा निकायको लापरवाही भएको भन्दै उक्त घटना प्रति दुख व्यक्त गरेको हो । साथै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।
अध्यक्ष गीता कुमारी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘ यस इच्छाकामना गाउँपालिका वडा नम्बर ३ स्थित स्थाई प्रहरीचौकी फिस्लिङमा मिति २०७६ ÷०८÷०१ ग्तेका दिन विहान भएको घटनामा यस गगाउँपालिका वडा नम्बर ५ मुग्लिन निवासी श्री राम कडेँललाई प्रहरी चौकीमा सकुशल नियन्त्रणमा लिएकोमा चौकी भित्रै अचेत अवस्थाम भेटिनु र निजको मृत्यु भएको हुनाले हामी इच्छाकामना गाउँपालिका सुरक्षा निकायको यस्तो लापरवाहीप्रति यस गाउँपालिका गहिरो दुख व्यक्त गर्दछौँ। शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासन भित्रै यस्तो दुखद घटना हुनु ज्यादै निन्दनिय विषय भएको प्रति हामी सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौँ । साथै सो घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको जोडदार माग गर्दछौँ । दुखको यस घडीमा मृतक आत्मा प्रति चिर शान्तिको कामना गर्दै शोकसंन्तप्त परिवारजनप्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक समवेदना व्यक्त गर्दछौँ’ ।