कुरिनटार,७ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नं ५ मा रहेको ऐतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिरको पुर्ननिर्माण कार्य सुरु भएको छ । शनिबार प्रदेश नम्बर तीनका प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नु भएको हो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिक स्थलहरुको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुर्ननिर्माणका लागि आफ्नो तर्फबाट आवस्यक पहल गर्ने आश्वासन दिनुभयो । विकास निर्माणका लागि स्थानीय नै सक्रिय हुनुपर्ने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना धार्मिक र पर्यटकीय स्थल रहेको थलो भएको बताउनुभयो । जिल्ला समन्वयबाट आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले यहाँको विकासका लागि जिल्ला समन्वयले आवस्यक पहल गर्दै आएको बताउनुभयो ।
गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले इच्छाकामनाको विकास विना समृद्ध चितवन बन्न नसक्ने भन्दै यहाँका धार्मिक तथा पर्यटकीय स्थलको विकासमा विशेष जोड दिनुपर्ने बताउनुभयो । सबैको आस्थाको धरोहर इच्छाकामना मन्दिरको प्रचार प्रसार र विकासका लागि गाउँपालिका लागी परेको बताउनुभयो । उहाँले मन्दिर पुर्ननिर्माणका लागि आर्थिक अभाव हुन नदिने बताउनुभयो ।
यसैबीच उहाँले फिस्लिङ देखीको मोटरबाटोको स्तोरन्नती भईरहेको र मुग्लिनबाट सडक संञ्जाल जोड्ने काम भइरहेको बताउनुभयो ।
उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले इच्छाकामनाको धार्मिक धरोहरलाई सबै मिलेर संरक्षण गर्नु पर्ने बताउनुभयो । इच्छाकामना मन्दिर एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुदैँ गइरहेको बताउनुभयो ।
कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले मन्दिर पूर्ननिर्माणका लागि रु ५० लाख प्रदेश सरकारबाट प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार काठ किन्न मात्र ३५ लाख लाग्ने छ । मन्दिर पुर्ननिर्माणका लागि करिब ३ करोड लाग्ने बताउदैँ आवस्यक सहयोगका लागि पहल गरिदिन सबैलाई अनुरोध गर्नुभयो ।
पुरानो ढुंगा र माटोले बनेको मन्दिर जिर्ण बनेपछि पुर्ननिर्माण सुरु गरिएको हो ।