मुग्लिन, ५ असार । राष्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधी मुग्लिनको त्रिवेणी बराह माविले जितेको छ । मुग्लिनमा बिहिबार सम्पन्न इच्छाकामना गाउँपालिकाको मावि स्तरीय प्रतियोगितामा त्रिवेणी बराहले २५–१२, २६–२४ र २५–२१ को सोझो सेटमा नेपाल राष्ट्रिय मावि हात्तिवाङलाई फाईनलमा हराउदै उपाधी जितेको हो । प्रतियोगितामा पराजयसँगै नेपाल राष्ट्रिय मावि हात्तिवाङले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
विजेता टिमलाई गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले ट्रफी मेडल र प्रमाणपत्र पत्र प्रदान गर्नुभयो । विजेता टिमलाई बधाई दिदैँ अध्यक्ष गुरुङले खेलकुदको विकासमा जोड दिने बताउनुभयो । उहाँले भन्नुभयो –‘स्वस्थ जीवनका लागि खेलकुद आवश्यकता रहेको हुदाँ आगामी दिनमा हामी भलिबल मात्र नभै फुटबल र अन्य खेललाई पनि प्राथमिकता दिनेछौं ।’
यसैबिच आज भएको प्रतियोगिताबाट छिट्टै सञ्चालन हुन लागेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड भलिबल प्रतियोगिताको लागि इच्छाकामना गाउँपालिका स्तरीय ९ जनाको टिम छनौट गरिएको छ । छनौटमा त्रिवेणी बराह माविका प्रविण मगर, राम मगर, रमण मगर, नरेन्द्र गुरुङ र अमर अधिकारीका साथै सर्वशान्ति मावि कुरिनटारका हिमालय क्याप्छाकी, शिशिर पन्त, अस्मित मगर र सन्तोष मगर परेका छन् । यस्तैगरी प्रशिक्षकमा रविन्द्र जोशी र शिव सिलवाल चयन भएको त्रिवेणी बराह मावि मुग्लिनका प्रध्यानाध्यापक युवराज लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेका थिए ।